News फर्साटिकरलाई आठौं चाँदनी कपको उपाधि
सुरज राना मगर

दानापुर । यहाँ सम्पन्न आठौं चाँदनी कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि फर्साटिकर युवा क्लब, फर्साटिकरले जितेको छ । फाइनलमा विश्व शान्ति युवा क्लब, सालझण्डीलाई पेनाल्टी शुटआउटमा हराउँदै फर्साटिकर च्याम्पियन बनेको हो ।

तयसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ फर्साटिकरका लागि आशिष जिसी र आशिष रानाले गोल गरेका थिए भने विश्व शान्तिका लागि एरोन थापा र आकाश रानाले गोल गरेका थिए । पेनाल्टी शुटआउटमा भने फर्साटिकरले ३–२ ले नतिजा आफ्नो पक्षमा पार्यो ।

विजेता बनेको फर्साटिकरले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता विश्व शान्तिले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विधागततर्फ फर्साटिकरका शुभांकर जिसी उत्कृष्ट गोलरक्षक बन्दा विश्व शान्तिका अनुप थापा उत्कृष्ट डिफेन्डर चुनिए । उत्कृष्ट मिडफिल्डर फर्साटिकरका सन्तोष खत्री बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार विश्व शान्तिका सुरज चौधरीले हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी पनि विश्व शान्ति कै विज्ञान गुरुङ घोषित भए ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री भूमिश्वर ढकाल, आयोजक चाँदनी युवा क्लबका अध्यक्ष निम प्रसाद थापा लगायतले पुरस्कृत गरेका थिए ।

चाँदनी युवा क्लब, दानापुर, कञ्चनको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएको प्रतियोगिता संयोजक रेम पुनले जानकारी दिए ।

Post Comments