News कालिनको राजिनामा, महर्जनलाई जिम्मेवारी
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो जिम्मेवारीबाट राजिनामा दिएका छन् । कालिनले गत बर्षको जनवरीमा मात्र नेपाली टोलीको जिम्मेवारी सम्हालेका थिए । उनको राजिनामाबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि पुष्टी गरेको छ ।

स्मरण रहोस, स्वीडिस प्रशिक्षक कालिनले कोरोना भाइरस महामारीका कारण गत मार्चमा देशव्यापी लकडाउन हुनु अघि स्वदेश फर्किएका थिए । त्यसयता उनी वर्तमान परिस्थितिका कारण नेपाली राष्ट्रिय फुटबल टोलीको जिम्मेवारी सम्हाल्न फर्किन सकेका थिएनन् ।

बिहीबार एन्फाले कालिनको राजिनामाबारे जानकारी दिंदै उनको स्थानमा बालगोपाल महर्जनलाई अन्तरिम प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । स्मरण रहोस, हालै नेपालले बंगलादेशसँग दुई मैत्रीपुर्ण अन्तर्राष्ट्रिय म्याच खेल्दा नेपाली टोलीको प्रशिक्षकीय जिम्मेवारी महर्जनले नै सम्हालेका थिए ।

टोली हाँक्ने महर्जनलाई चुनौति

प्रशिक्षक महर्जनले नेपाली टोलीको जिम्मेवारी यसअघि पनि सम्हालिसकेकाले उनलाई यो भूमिका त्यति नौलो भने हुने छैन । यद्यपि महर्जनमाथि ठूलो चुनौति भने बाँकी नै छ ।

नेपालले अब खेल्ने आगामी मैत्रीपूर्ण तथा आधिकारिक फुटबल खेलहरुमा महर्जनले प्रशिक्षकीय जिम्मेवारी सम्हाल्ने छन् । स्मरण रहोस, फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनौट प्रतियोगितातर्फ नेपालले घरमै अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ ।

विश्वकपमा छनौट हुने सम्भावनाबाट बाहिरिसकेको नेपालले एसियन कप खेल्ने सम्भावना भने कायम छ । नेपालले छनौट प्रतियोगिता खेल्नु अघि थप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने सम्भावना पनि छ ।

 

Post Comments