News फर्साटिकर रानीगञ्ज कपको सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । प्रतियोगिताको दावेदार मध्ये एक मानिएको फर्साटिकर युवा क्लब रुपन्देहीमा जारी तेस्रो रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको तेस्रो क्वाटरफाइनलमा फर्साटिकरले टिकुलीगढ युवा क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो । बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा भएको खेलको १०औं मिनटमा रामगोपाल कहरले फर्साटिकरका लागि पहिलो गोल गरेका थिए ।

कहरले मैदानको दाँया भागबाट टिकाराज गुरुङले मिलाइदिएको क्रस पासमा बक्स नजिकैबाट सटिक गोल गरे । त्यस्तै दोस्रो गोल भने २४औं मिनटमा बिसु थापाले गरे । थापाले बक्स बाहिरबाट गरेको कडा प्रहार बिपक्षी गोलरक्षकले जोगाउने प्रयास गरे तापनि गोलमा परिणत भएको थियो ।

उता पराजित टिकुलीगढका लागि ५४औं मिनटमा सनम गुरुङले एक मात्र सान्त्वना गोल फर्काए । आइतबारको खेलमा टिकुलीगढका गोलकर्ता सनम गुरुङ नै म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत मंसिर २९ गते सोमबारको खेल आयोजक रानीगञ्ज युवा क्लब (ए) र न्यु ईरा एफसीबीच हुने खेल संयोजक आशिष मगरले जानकारी दिए ।

रानीगञ्ज युवा क्लब, बुटवल–१७ को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष धन बहादुर ठकुरीले बताए । त्यस्तै विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष ठकुरीले बताए ।

प्रतियोगिताको फाइनल खेल भने पौष ४ गतेका दिन हुनेछ ।

Post Comments