News आयोजक सौभाग्य सेमिफाइनलमा प्रवेश
सुरज राना मगर

बुटवल । आयोजक सौभाग्य युवा क्लब (ए) यहाँ जारी प्रथम स्व. प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बुटवल–७, दिपनगर स्थित सिद्धेश्वरी खेलमैदानमा भएको क्वाटरफाइनल खेलतर्फ सौभाग्यले सराई एफसी, पाल्पालाई शून्यका विरुद्ध २ गोलले हरायो ।

सौभाग्यको जितमा छैटौं मिनटमै कप्तान यमु रानाले पहिलो गोल गरेका थिए । घरेलु समर्थकको साथ पाएको सौभाग्यका लागि दोस्रो गोल भने २९औं मिनटमा आशिष श्रेष्ठले गरे । जुन गोल खेलको अन्तिम गोल बन्यो ।

आइतबारको खेलको म्यान अफ द म्याच पनि सौभाग्य कै आरोन मल्ल चुनिए । मल्ललाई आयोजक सौभाग्य युवा क्लबका कोषाध्यक्ष मनोज गौचनले पुरस्कार हस्तान्तरण गरे ।

प्रतियोगिता अन्तरगत मंसिर २९ गते सोमबारको खेल केरवानी स्पोर्टिङ क्लब र जनज्योति क्लबबीच हुने प्रतियोगिताको प्रचार प्रसार संयोजक कृष्ण कुमालले जानकारी दिए ।

सौभाग्य युवा क्लब, बुटवल–७ दिपनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष दिपक गुरुङले बताए । प्रतियोगिताको फाइनल खेल पौष ५ गतेका दिन हुनेछ ।

Post Comments