सुपौली । फराकिलो जितका साथ फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी स्व. बस बहादुर शेरपुन्जा पुन तथा दिल कुमारी शेरपुन्जा पुन स्मृति तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले न्यु युथ युनियन क्लब, पाल्पालाई शून्यका विरुद्ध ६ गोलको फराकिलो अन्तरले हरायो । फर्साटिकरको जितमा आशिष रानाले प्रतियोगिता कै पहिलो ह्याट्रिक गरे । थप गोल भने अमन लामा, आशिष जिसी र टिकाराज गुरुङ्गले गरे ।
खेलमा ह्याट्रिक गरेका फर्साटिकरका आशिष राना म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर ९ गते आइतबारको तेस्रो प्रिक्वाटरफाइनल खेल आयोजक समपुर्ण युवा क्लब, सुपौली र सिम्रिक युवा क्लब, बुटवल बीच हुने खेल संयोजक अशोक पुनले जानकारी दिए ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही मंसिर २२ गतेका दिन हुनेछ ।