बेलका । कठिन र संघर्षपुर्ण जितका साथ गाईघाट फुटबल क्लब यहाँ जारी प्रथम मैनारानी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गाईघाटले शनिबार भएको दोस्रो क्वाटरफाइनलतर्फ तालतलैया फुटबल क्लबलाई सडन डेथमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
मेखबारी खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ गाईघाटका लागि सनम राईले गोल गरेका थिए भने तालतलैयाका लागि सिजल राईले गोल गरेका थिए । त्यसपछि टाईब्रेकरबाट पनि नतिजा निस्किन नसक्दा सडन डेथमा गाईघाट विजयी बन्यो ।
खेलमा गाईघाटका गोलरक्षक अनिल म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर ९ गते आइतबारको तेस्रो क्वाटरफाइनल खेल बसाहा फुटबल क्लब र एभरेष्ट फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
पञ्चकन्या फुटबल क्लब, बेलका–८, कोठुको आयोजनामा जारी प्रतियोगितामा कुल आठ टोलीहरु सहभागि छन् । प्रतियोगिताको फाइनल खेल भने यही मंसिर १४ गतेका दिन हुनेछ ।