News पथरीमा फुटबल प्रिमियर लिगलाई फुटबल संघको साथ
गोलनेपाल

पथरी । मोरङको पथरीमा टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग जारी भईरहँदा प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न विभिन्न संघसंस्था र व्यक्तित्वहरुको सहयोग आउने क्रम जारी छ ।

नेपाल मै पहिलोपटक स्थानीयस्तरमा अक्सन मार्फत खेलाडी खरिद गरि फुटबल लिगको आयोजना भईरहेको अवस्थामा लिगलाई मोरङ जिल्ला फुटबल संघले पनि सहयोगको हात बढाएको छ ।

लिग आयोजनाका लागि प्राविधिक सहयोग समेत गरिरहेको फुटबल संघले आइतबार एक कार्यक्रमका बीच लिग आयोजक समितिलाई पाँच थान म्याच बल हस्तान्तरण गर्यो । सो अवसरमा फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल र महासचिव प्रकाश मास्केले बल हस्तान्तरण गरे ।

बल हस्तान्तरण गरेपछि मन्तव्य राख्ने क्रममा फुटबल संघका अध्यक्ष धिमालले जिल्लामा फुटबल विकासका लागि स्थानीयस्तर मै लिगको आयोजना हुनुलाई राम्रो सम्भावनाका रुपमा आफूहरुले लिएको बताए । यसले स्थानीय खेलाडीहरुलाई फुटबल खेलमा लाग्न थप प्रेरित गर्ने विश्वास समेत अध्यक्ष धिमालले व्यक्त गरे ।

स्मरण रहोस, यहि मंसिर २५ गतेदेखि पथरी रंगशालामा जारी फुटबल प्रिमियर लिगमा पथरी शनिश्चरे नगरपालिका भित्रका कुल आठ टोलीहरुले सहभागिता जनाइरहेका छन् । लिगको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

लिगमा सहभागि आठ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको प्रत्येक समुहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । लिगको फाइनल खेल भने आउँदो पौष ११ गते शनिबारका दिन हुनेछ ।

Post Comments