News आठौं फर्साटिकर कप पौषमा, विजेतालाई २ लाख
सुरज राना मगर

बुटवल । छोटो समयमै जिल्लादेखि राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सफल भएको फर्साटिकर कपको आठौं संस्करण यहि आउँदो पौष १० देखि २५ गतेसम्म हुने भएको छ । यसपटक प्रतियोगिताको नाम ‘शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कप २०७७’ हुने भएको छ ।

शुद्धोदन–४ स्थित फर्साटिकर माविको खेलमैदान (बर्मेली टोली) मा हुने प्रतियोगितामा रुपन्देही, नवलपरासी, पाल्पा र कपिलवस्तुसम्मका टोलीहरुको सहभागिता रहने प्रतियोगिताको खेल संयोजक टेकु भण्डारीले जानकारी दिए । प्रतियोगितामा चार जिल्लाका १६ टोलीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगिता रुपन्देही जिल्ला भित्र आयोजना भए तापनि प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरु राष्ट्रिय स्तरसम्मका हुने आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवरले बताए ।

विजेतालाई दुई लाख नगद

प्रतियोगिताको आठौं संस्करणको विजेताले उपाधिसहित नगद २ लाख हात पार्ने खेल संयोजक भण्डारीले बताए । त्यस्तै उपविजेताले पनि ट्रफी सहित एक लाख हात पार्नेछ । सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई १५–१५ हजार प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

त्यसैगरी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले १० हजार हात पार्नेछ भने अन्य व्यक्तिगत विधातर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष कुँवरले बताए । साथै अध्यक्ष कुँवरले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सबैतर्फबाट सहयोग र समर्थनको समेत आह्वान सहित अपेक्षा गरेका छन् ।

स्मरणीय छ, गत बर्ष प्रतियोगिताको सातौं संस्करणको उपाधि आयोजक फर्साटिकर युवा क्लबले नै जित्न सफल भएको थियो ।

Post Comments