News कठिन जितका साथ झरना सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । उपाधिको बलियो प्रत्याशी मानिएको झरना स्पोर्टस क्लब जारी प्रथम स्व. प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल–७ दिपनगर स्थित सिद्धेश्वरी मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा झरनाले फर्साटिकर युवा क्लब विरुद्ध १–० को झिनो अन्तरको जित निकाल्यो । ३५–३५ मिनटको खेलाइएको खेल अन्तरगत पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

यद्यपि दोस्रो हाफ शुरु भएको चार मिनट लगतै ३९औं मिनटमा झरनाका लागि मोहन थापाले एक मात्र निर्णायक गोल गरे । त्यसपश्चातको खेलमा दुवै पक्षबाट गोलका केही प्रयासहरु भए तापनि गोल हुन भने सकेन ।

खेलको म्यान अफ द म्याच झरना कै निर्णायक गोलकर्ता मोहन थापा घोषित भए । थापालाई क्लब कै आयोजक सौभाग्य युवा क्लबका पूर्व अध्यक्ष राजु मल्ल गाहाले पुस्कृत गरे ।

यो जितसँगै सेमिफाइनलमा पुगेको झरनाले पौष २ गतेका दिन शिवनगर युवा क्लबसँग खेल्ने आयोजक सौभाग्य युवा क्लबका सल्लाहकार राजेन्द्र रिजाल (राजु) ले बताए । त्यस्तै प्रतियोगिता अन्तरगत पौष १ गते बुधबारको अन्तिम क्वाटरफाइनल खेल जनज्योति क्लब र सिद्धार्थ युवा क्लबबीच हुने सल्लाहकार रिजालले जानकारी दिए ।

सौभाग्य युवा क्लब, बुटवल–७ दिपनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधि सहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दिपक गुरुङले बताए । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिउको अध्यक्ष गुरुङले बताए ।

रुपन्देही, पाल्पा र नवलपरासीका गरी कुल २० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो पौष ५ गतेका दिन हुने आयोजकले जनाएको छ ।

 

 

Post Comments