News समपुर्णद्वारा राष्ट्रिय खेलाडी अभिषेक वाईबा सम्मानित
सुरज राना मगर

सुपौली । मोफसलको फुटबलमा आफ्नो फरक पहिचान बनाउन प्रयासरत र सक्रिय क्लबका रुपमा रहेको रुपन्देहीको समपुर्ण युवा क्लबले नेपालका राष्ट्रिय खेलाडी अभिषेक वाईबा लामालाई सम्मान गरेको छ ।

हाल तिलोत्तमा–१४, सुपौलीमा जारी स्व. बस बहादुर शेरपुजा पुन तथा दिलकुमारी शेरपुजा पुन स्मृति तेस्रो समपुर्ण कप खेल्न रुपन्देही आएको अवसर पारी समपुर्णले अभिषेकलाई एक कार्यक्रमका बीच खेल मैदान मै सम्मानित गरेको हो ।

अभिषेकलाई रुपन्देहीका एक्लो एएफसी ए लाईसेन्स राष्ट्रिय प्रशिक्षक यम प्रसाद गुरुङ, तेस्रो समपुर्ण कपका मुख्य प्रायोजक परिवारको तर्फबाट हिरु पुन, आयोजक समपुर्ण युवा क्लबका अध्यक्ष अबिर पुन, क्लबका सक्रिय सदस्य तारा केसी तथा रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष सुधिर थापाले संयुक्त रुपमा अभिषेकलाई खादा ओढाएर सम्मान गरेका हुन् ।

समपुर्ण क्लबले मोफसलदेखि राष्ट्रका लागि खेल्दै आफूलाई उत्कृष्ट खेलाडीका रुपमा चिनाउन र नेपाली फुटबलमा अभिषेकको योगदानलाई उच्च मुल्यांकन गर्दै उनलाई हौसला प्रदान गर्न सम्मान गरिएको क्लबका अध्यक्ष अबिर पुनले बताए ।

स्मरण रहोस, अभिषेकले नोभेम्बर महिनामा फिफा फ्रेण्डली अन्तर्गत ताजिकिस्तानमा भएको नेपाल, अफगानिस्तान र ताजिकिस्तान सम्मिलित ट्राई नेशन्स सिरिजमा राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय फुटबलमा सिनियर डेब्यु गरेका थिए । त्यसो त, उनले यसअघि नेपाल कै युथ टोलीबाट पनि खेलिसकेका छन् ।

Post Comments