News चाँदनी तेस्रो समपुर्ण कपको फाइनलमा, उपाधिका लागि सिम्रिकसँग भिड्ने
सुरज राना मगर

सुपौली । चाँदनी युवा क्लब, दानापुर जारी स्व. बस बहादुर शेरपुजा पुन तथा दिलकुमारी शेरपुजा पुन स्मृति तेस्रो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा चाँदनीले जनज्योति युवा क्लब, डिंगरनगरलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । चाँदनीको जितमा एरोन थापा मगरले दुई गोल गरे भने थप एक गोल निशान क्षेत्रीले गरे । पराजित जनज्योतिका लागि भने रोहन राईले एक मात्र गोल फर्काएका थिए ।

खेलमा दुई गोल गरेका चाँदनीका एरोन थापा मगर म्यान अफ दि म्याच समेत चुनिए । चाँदनीले अब यही मंसिर २२ गते शनिबार हुने फाइनलमा सिम्रिक युवा क्लब, बुटवलसँग उपाधिका लागि भिड्नेछ ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौलीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

Post Comments