News रेड डेभिल्स र गोधुली फाइनलमा भिड्ने
गोलनेपाल

फुङलिङ । दोस्रो चासोक तङनाम कञ्चनजंघा सेसेलुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा रेड डेभिल्स मजोमाई, इलाम र गोधुली क्लब, धरान, सुनसरी भिड्ने भएका छन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलर्फ न्यु स्टार क्लब, बिर्तामोड, झापालाई टाईब्रेकरमा ४–३ ले हराएपछि रेड डेभिल्सले यही मंसिर २२ गते शनिबार हुने फाइनलमा गोधुली क्लबसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

त्यसअघि भानु माविको खेल मैदानमा भएको निर्धारित समयको खेलमा रेड डेभिल्स र न्यु स्टारले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने रेड डेभिल्सले नतिजा आफ्नो पक्षमा पार्यो ।

खेलमा रेड डेभिल्सका सुजन फागो म्यान अफ दि म्याच घोषित भए । टाईब्रेकरमा फागोले विपक्षीका दुई पेनाल्टी प्रहार जोगाएका थिए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल प्राप्त गरे ।

चासोक तङनाम संचालन समिति, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०२,०८१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,०८१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments