News पथरी प्रिमियर लिगमा सिरिजंगाको जित
गोपाल काफ्ले

पथरी । मोरङको पथरीशनिश्चरेमा जारी टेन्सवर्ग प्रथम पथरीशनिश्चरे प्रिमियर लिगतर्फ मंगलबारको खेलमा सिरिजंगा एफसीले जित हात पारेको छ ।

दोस्रो चरणको दोस्रो खेलमा सिरिजंगाले शिखर एफसीलाई २–१ ले हराउँदै जारी लिगमा ६ अंक बटुल्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको हो ।

पथरी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहिल बराबरीमा टुंगिएको थियो । सिरिजंगाका लागि ५०औं मिनटमा मञ्जिल खड्काले पहिलो गोलको खाता खोले । लगतै ५९औं मिनटमा जहरमान लिम्बुले सिरिजंगाको त्यो अग्रता दोब्बर पारे । जुन अग्रता खेलको निर्णायक पनि बन्यो ।

उता पराजित शिखरका लागि ७९औं मिनटमा सौर्य राउतले एक गोल गरे तापनि त्यो गोलले टोलीको हार भने टार्न सकेन । खेलको म्यान अफ द म्याच सिरिजंगाका जहरमान लिम्बु घोषित भए । उनलाई सुनबर्सी नगरपालिका वडा नम्बर २ का अध्यक्ष प्रताप तामाङले पुरस्कृत गरे ।

लिग अन्तरगत पौष १ गते बुधबारको खेल टेन नवोदय एफसी र वाई.जि.एफ.टी. बीच हुने लिग आयोजक कमिटीले जनाएको छ । आउँदो पौष ११ गतेसम्म चल्ने लिगको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

पथरी शनिश्चरे नगरपालिका भित्रका कुल ८ टोलीहरुको सहभागिता रहेको लिगमा सहभागि टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

Post Comments