
पथरी । टेन नवोदय फुटबल क्लब जारी टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगतर्फ समूह बी बाट सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
पथरी रंगशालामा बुधबार भएको समुह बी तर्फको तेस्रो खेलमा नवोदयले वाई.जि.एफ.टी. लाई शून्यका विरुद्ध १ गोलले हराउँदै महत्वपूर्ण तीन अंक बटुल्यो र कुल ६ अंकका साथ शिर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।
नवोदयको जितमा पहिलो हाफको १२औं मिनटमा घनश्याम चौहानले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको सोनालिका म्यान अफ द म्याच भने नवोदय कै अर्जुन बस्नेत घोषित भए । बस्नेतलाई पथरी शनिश्चरे नगरपालिका स्थित पंचायत माविका प्राचार्य अर्जुन बुढाथोकीले पुरस्कृत गरे ।
प्रतियोगिता अन्तरगत पौष २ गते बिहीबारको खेल देविजंग एफसी र द रियल ब्रदर्श एफसीबीच हुने आयोजकले जनाएको छ । स्थानीयस्तर मै पहिलोपटक अक्सनमाफृत खेलाडी खरिद गरि आयोजना गरिएको लिगको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।
पथरी शनिश्चरे नगरपालिका भित्रका आठ टोलीहरु सहभागि रहेको लिगमा सहभागि टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । लिगको फाइनल खेल भने आउँदो पौष ११ गतेका दिन हुनेछ ।