News तेस्रो रानीगञ्ज कपको उपाधि आयोजक कै कब्जामा
सुरज राना मगर

बुटवल । तेस्रो रानीगञ्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक रानीगञ्ज युवा क्लबले नै जितेको छ । शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा रानीगञ्जले फर्साटिकर युवा क्लबलाई टाईब्रेकरमा ४–२ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

बुटवल–१७ रानीगञ्ज स्थित भूपू सैनिक खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको १८औं मिनटमा फर्साटिकरका सुजन रानाले बक्स भित्र अनमार्क रहेको फाईदा उठाउँदै गोल गर्न सफल भएका थिए ।

तर दोस्रो हाफमा आक्रमक बनेको आयोजकले खेलमा पूनरागमन गर्यो । ५६औं मिनटमा रानीगञ्जका सबी गुरुङले बक्स बाहिरबाट एक्लै बल अगाडी बढाउँदै विपक्षी गोलरक्षकलाई बिट गरेर सटिक गोल गर्न सफल भएका थिए । त्यसपश्चात पनि आयोजक रानीगञ्जले खेलमा राम्रो अवसर पाएको थियो । तर त्यसलाई सदुपयोग गर्न भने सकेन ।

विजेता बनेको रानीगञ्जले उपाधिसहित नगद ४० हजार हात पार्यो भने उपविजेता फर्साटिकरले २० हजारमा चित्त बुझायो । त्यस्तै व्यक्तिगत विधातर्फ आयोजक रानीगञ्ज कै दबदबा रह्यो । उत्कृष्ट गोलरक्षक आयोजकका किरन क्षेत्री बन्दा उत्कृष्ट डिफेन्डर पनि आयोजक कै मनोज श्रेष्ठ घोषित भए ।

त्यस्तै उत्कृष्ट मिडफिल्डर पनि आयोजक रानीगञ्ज कै एलिस मगर चुनिंदा उत्कृष्ट फरवार्ड रानीगञ्ज कै सरद क्षेत्री घोषित भए । प्रतियोगिताभरि चार गोल गरेका फर्साटिकरका सुरज हमालले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने आयोजक रानीगञ्जका सबी गुरुङ घोषित भए ।

रानीगञ्ज युवा क्लब, बुटवल–१७ को आयोजनामा गत मंसिर १८ गतेदेखि शुरु प्रतियोगितामा कुल २१ टोलीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक गौतम गुरुङले बताए । साथै प्रतियोगितालाई सफलताका साथ सम्पन्न सहयोग गर्नुहुने सबैलाई उनले आयोजकको तर्फबाट धन्यवाद समेत दिए ।

Post Comments