News अपराजित श्रीजंगा र न्यु स्टार सेमिफाइनलमा
गोपाल काफ्ले

पथरी । आफ्नो समूहमा अपराजित रहेको श्रीजंगा एफसी र हेरिका न्यु स्टार जारी टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । श्रीजंगा समूह ए को विजेता र हेरिका न्यु स्टार उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

शनिबार भएको समूह ए तर्फको अन्तिम खेलमा श्रीजंगाले हिम–अस हाइवे एफसीलाई ३–० ले हरायो र आफ्नो शतप्रतिशत जितको यात्रालाई कायम राख्यो । पथरी रंगशालामा भएको खेलको ३८औं मिनटमा सफल आङबुहाङको गोलबाट श्रीजंगाले खेलमा अग्रता लिएको थियो ।

लगतै ४६औं मिनटमा सनम धिमालले त्यो अग्रता दोब्बर पारे । खेलमा एकपक्षीय जित निकालेको श्रीजंगाका लागि ७०औं मिनटमा प्रताम लिम्बुले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलमा श्रीजंगाका सुवास तामाङ म्यान अफ द म्याच घोषित भए । उनलाई कान पोखरी गाउँपालिका वार्ड नम्बर १ मोरङका अध्यक्ष चरण गुरुङले पुरस्कृत गरे ।

शनिबारको नतिजापछि समूह ए बाट श्रीजंगा र हेरिका न्यु स्टार एफसी सेमिफाइनलमा प्रवेश गर्दा शिखर एफसी र हिम–अस हाइवे फुटबल क्लब भने समूह चरणबाटै बाहिरिएका छन् ।

लिग अन्तरगत पौष ५ गते आइतबारको खेल समूह बी तर्फबाट वाई.जि.एफ.टी. र देवीजंग एफसीबीच हुने आयोजकले जनाएको छ । स्थानीयस्तर मै पहिलोपटक अक्सनबाट खेलाडीहरु खरिद गरि सञ्चालित लिगको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

लिगमा पथरी शनिश्चरे नगरपालिकाका कुल आठ टोलीहश्रुको सहभागिता रहेको छ । सहभागि आठ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । लिगको फाइनल खेल भने आउँदो पौष ११ गतेका दिन हुनेछ ।

Post Comments