News पथरी प्रिमियर लिगः देवीगंजसँग वाई.जि.एफ.टी. निराश
गोपाल काफ्ले

पथरी । मोरङको पथरीमा जारी टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगको समूह बी तर्फ आइतबार सम्पन्न खेलमा देवीगंज फुटबल क्लबले पहिलो जित दर्ता गरेको छ ।

पथरी रंगशालामा भएको समूह चरणको आफ्नो अन्तिम खेलमा देवीगंजले वाई.जि.एफ.टी. लाई ३–२ ले हरायो । पथरी रंगशालामा भएको खेलको तेसे मिनट मै अभय लिम्बुको गोलबाट वाई.जि.एफ.टी.ले खेलमा अग्रता बनाएको थियो । तर वाई.जि.एफ.टी. ले त्यो अग्रता जोगाउन सकेन ।

गोविन्द गुरुङले देवीगंजका लागि २५औं मिनटमा बराबरी गोल गर्दै खेललाई १–१ को स्थितिमा पुर्याए । यद्यपि ४५औं मिनटमा रोशन न्यौपानेको गोलबाट वाई.जि.एफ.टी. ले खेलमा फेरि दोस्रोपटक अग्रता बनायो । तर त्यो दुईपटकको अग्रता पनि जोगाउन सकेन ।

उता देवीगंजका लागि सन्तोष न्यौपाने निर्णायक बने । न्यौपानेले खेलको ६९ र ८०औं मिनटमा लगातार दुई गोल गर्दै टोलीको रोमाञ्चक जित सुनिश्चित गरे । खेलको म्यान अफ द म्याच देवीगंज कै निर्णायक गोलकर्ता सन्तोष न्यौपाने घोषित भए । उनलाई केन्द्रिय प्रशिक्षक संघका उपाध्यक्ष सुमन श्रेष्ठले पुरस्कृत गरे ।

समूह बी बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्यो

आइतबारको खेलमा वाई.जि.एफ.टी. को हारसँगै समूह बी बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ । समूह बी बाट टेन नवोदय एफसी र द रियल ब्रदर्श एफसी सेमिफाइनलमा प्रवेश गरेका छन् । यी दुई टोलीको २ खेलमा क्रमशः ६ र ४ अंक छ ।

यसअघि २ खेलबाट १ अंक जोडेको वाई.जि.एफ.टी. को सेमिफाइनल पुग्ने सम्भावना थियो । तर आइतबारको पराजयसँग वाई.जि.एफ.टी. को त्यो सम्भावना पनि समाप्त भएको छ ।

आइतबारको नतिजापछि देवीगंज ३ खेलबाट ३ अंकका साथ तेस्रो स्थानमा उक्लिएर लिगको समापन गरेको छ भने १ अंकका साथ वाई.जि.एफ.टी. पुछारमा झरेको छ ।

लिग अन्तरगत सोमबारको अन्तिम खेल टेन नवोदय एफसी र द रियल ब्रदर्श एफसीबीच हुनेछ । यो खेल दुवै टोलीका लागि औपचारिक खेलका रुपमा हुनेछ । किनभने समूह बी बाट यी दुई टोली नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । र सोमबारको खेलको नतिजाले समूह बी को विजेता र उपविजेताको छिनोफानो गर्नेछ ।

स्थानीय स्तर मै पहिलोपटक अक्सनमार्फत खेलाडी खरिद गरि आयोजना भईरहेको लिगको विजेताले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । लिगको फाइनल खेल भने आउँदो पौष ११ गतेका दिन हुनेछ ।

Post Comments