News झरना बन्यो च्याम्पियन
सुरज राना मगर

 

बुटवल । झरना स्पोर्टस क्लब, कुञ्जलापुर बुटवलमा सम्पन्न प्रथम स्व. प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिताको विजेता बन्न सफल भएको छ ।

आइतबारको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा झरनाले सिद्धार्थ युवा क्लबलाई सडन डेथमा ६–५ ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भयो । बुटवल–७ दिपनगर स्थित सिद्धेश्वरी खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

खेलमा सिद्धार्थले दुईपटकको अग्रता जोगाउन सकेन । खेलको २२औं मिनटमा विश्वास थापाले मैदानको बाँया भागबाट गरेको आकर्षक प्रहार गोलमा परिणत भएको थियो । यद्यपि लगतै सिद्धार्थका कप्तान अनुप थापाले आत्मघाती गोल गर्न पुग्दा खेलमा झरनाले १–१ को पूनःरागमन गर्न सफल भएको थियो ।

त्यसको चार मिनट लगतै सुवास परियारले गोल गर्दै सिद्धार्थलाई दोस्रोपटक खेलमा अग्रता दिलाए । तर त्यो अग्रता पनि सिद्धार्थले जोगाउन सकेन । उता झरनाका लागि अजय थापाले गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यसपछिको पेनाल्टी शुटआउटमा भने सडन डेथको आधारमा झरनाले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

विजेता बनेको झरनाले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता सिद्धार्थले २५,५५५ रुपैयाँमा चित्त बुझायो । आयोजक सौभाग्य युवा क्लबका सल्लाहकार राजेन्द्र रिजाल (राजु) का अनुसार विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुबेदी, स्व. प्रचण्ड थैवकी आमा सुकन्या थैव लगायतले पुरस्कृत गरेका थिए ।

व्यक्तिगत विधातर्फ झरना कै वर्चश्व

प्रतियोगिताको व्यक्तिगत विधातर्फ विजेता झरनाले नै आफ्नो वर्चश्व कायम राख्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झरनाका अजय थापा घोषित भए । उनले पुरस्कार वापत एक थान माउण्टेन बाइक साइकल हात पारे ।

त्यस्तै उत्कृष्ट गोलरक्षक पनि झरना कै कुशल बिक घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि झरनाका मनोज श्रेष्ठ चुनिए । उत्कृष्ट फरवार्ड भने सिद्धार्थका सबी गुरुङ घोषित भए । उत्कृष्ट प्रशिक्षकको पुरस्कार झरनाका निल प्रसाद छन्त्यालले हात पारे ।

त्यसैगरी प्रतियोगिता भरि कुल चार गोल गरेका सिद्धार्थका विश्वास थापाले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पारेको कुरा सल्लाहकार रिजालले जानकारी दिए ।

सौभाग्य युवा क्लब, बुटवल–७ दिपनगरकोे आयोजनामा गत मंसिर २० गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देही, पाल्पा र नवलपरासीका गरि कुल २० टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments