News १२औं फर्साटिकर कपः अभिषेक चर्च अन्तिम चारमा
सुरज राना मगर

फर्साटिकर । दश खेलाडीमा सिमित हुनुका बावजुद अभिषेक चर्च, रजहर जारी शुद्धोधन गाउँपालिका १२औं फर्साटिकर कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वाटरफाइनलतर्फ अभिषेक चर्चले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । अभिषेक चर्चका लागि जेनिश प्रजापतिले दुई गोल गर्दा रिचार्डसले थप एक गोल गरेका थिए ।

त्यस्तै खेलको दोस्रो हाफतर्फ अभिषेक चर्चका गोलरक्षक अनुप रानाले सोझै रातो कार्ड खाँदै छाड्दा टोली दश खेलाडीमा खुम्चिएको थियो । तर, पनि अभिषेक चर्चले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा दुई गोल गरेका अभिषेक चर्चका जेनिश प्रजापति म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत पुस २६ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक फर्साटिकर युवा क्लब, फर्साटिकर र देवदह ब्वाईज, देवदह बीच हुने खेल संयोजक अकरम अलीले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिए । फाइनल खेल माघ २ गतेका दिन हुनेछ ।

Post Comments