
नक्सलबारी । एकतर्फी जित निकाल्दै सतिसाले स्र्पोटिङ क्लब, मोरङ जारी पाँचौं माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
पहिलो सेमिफाइनलतर्फ सतिसालेले पानबारी फुटबल क्लब, सुनसरीलाई ४–१ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । सतिसालेको जितमा भुवन बस्नेतले दुई गोल गर्दा डेनियल र बिशाल भण्डारीले एक–एक गोल गरे । पराजित पानबारीका लागि भने निकेन राईले एक मात्र गोल गरेका थिए ।
खेलमा दुई गोल गरेका सतिसालेका भुवन बस्नेत म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत पुस २९ गते सोमबारको दोस्रो सेमिफाइनल खेल डाँगीहाट फुटबल क्लब, मोरङ र नक्सलबारी फुटबल क्लब, मोरङबीच हुनेछ ।
नक्सलबारी फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ १ गतेका दिन हुनेछ ।