
निजगढ । बिरगंज युनाइटेड क्लब र बेङखडी युवा क्लब यहाँ जारी तेस्रो ल्होसार कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शनिबार बुद्धचोक फुटबल मैदानमा भएको पहिलो खेलमा बिरगंजले अल्तोकी क्लबलाई ४–१ ले हरायो । बिरगंजका लागि सागर चौधरीले दुई गोल गर्दा विपिन मगर र बिबेक चौधरीले एक–एक गोल गरे । अल्तोकका लागि सुरेन्द्र चौधरीले एक मात्र गोल फर्काए । खेलमा बिरगंजका सागर चौधरी म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा बेङखडीले न्यु हिमाल युथ क्लबलाई शून्यका विरुद्ध १ गोलको अन्तरले हरायो । बेङखडीको जितमा सुदिप आलेले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच भने बेङखडी कै मनिष थापा मगर घोषित भए ।
प्रतियोगिता अन्तर्गत माघ ६ गते आइतबारको पहिलो खेल मकवानपुर–११ र निजगढ युथ क्लब बीच हुनेछ भने दोस्रो खेल एभरेष्ट एकेडेमी र योङ स्टार युनाइटेड क्लबबीच हुनेछ ।
योङ स्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२०२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१०१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ १२ गतेका दिन हुनेछ ।