News टेन नवोदय पथरी प्रिमियर लिग च्याम्पियन
गोलनेपाल

पथरी । टेन्सबर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगको उपाधि टेन नवोदय फुटबल क्लबले जितेको छ । शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा नवोदयले द रियल ब्रदर्श एफसीलाई १–० ले हराउँदै लिग उपाधि उचाल्न सफल भएको हो ।

पथरी रंगशालामा भएको कडा प्रतिस्पर्धाका बीच खेलको ५९औं मिनटमा रोशन माझीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । फाइनल खेलको म्यान अफ द म्याच भने रियल ब्रदर्शका बिशाल पाण्डे घोषित भएका थिए ।

बिजेता बनेको टेन नवोदयले उपाधिसहित नगद १ लाख ७५ हजार हात पार्यो भने उपविजेता रियल ब्रदर्शले ७५ हजारमा चित्त बुझायो । बिजयी खेलाडीहरुलाई पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले पुरस्कृत गरे ।

बस्नेत बने सर्वोत्कृष्ट खेलाडी

लिगको सर्वोत्कृष्ट खेलाडी टेन नवोदयका गोलरक्षक अर्जुन बस्नेत घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे । बस्नेत प्रतियोगिताको उत्कृष्ट गोलरक्षक समेत चुनिए ।

त्यसैगरी उत्कृष्ट डिफेन्डर रियल ब्रदर्शका तिर्थराज बस्नेत घोषित हुँदा उत्कृष्ट मिडफिल्डर भने सिरिजंगा एफसीका जहरमान लिम्बु घोषित भए । उत्कृष्ट फरवार्ड टेन नवोदयका रोशन माझी बन्दा उदियमान खेलाडीको पुरस्कार भने वाई.जि.एफ.टी. का संजय लिम्बुले हात पारे ।

त्यसैगरी उत्कृष्ट प्रशिक्षक टेन नवोदय कै साजन काङ्वा बन्दा फेयर प्ले पुरस्कार देवीगंज फुटबल क्लबले हात पार्यो । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार हात पारे ।

स्मरण रहोस, स्थानीयस्तर मै पहिलोपटक लिलामीबाट खेलाडी खरिद गरि गत मंसिर २५ गतेदेखि आयोजना गरिएको लिगमा पथरी शनिश्चरे नगरपालिका भित्रका कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments