News सेन्ट्रल कलेज भरतपुर एफसीको सनसनी
सुरज राना मगर

बुटवल । खेलको शुरुवात मै दुई गोल खाएर पनि हार नमानेको सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब, चितवनले उत्कृष्ट पूनःरागमनका साथ जारी शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कपको क्वाटरफाइनल यात्रा पक्का गरेको छ ।

शनिबार शुद्धोदन–४ बर्मेली टोल स्थित फर्साटिकर माविको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक प्रिक्वाटरफाइनल भिडन्तमा भरतपुरले जनज्योति युवा क्लब, डिङ्गरनगरलाई पेनाल्टी शुटआउटमा २–१ ले हराउन सफल भयो । खेलको १५औं मिनटमै कर्मा शेर्पाले जनज्योतिका लागि पहिलो गोल गर्दा भरतपुर झस्किन पुगेको थियो ।

२५औं मिनटमा म्याक्सवेलले जनज्योतिका लागि दोस्रो गोल गरेपछि भरतपुर पहिलो हाफमै २–० ले पछि पर्न पुगेको थियो । खेलको शुरुवातबाटै राम्रो प्रदर्शन गर्दै विपक्षीमाथि दबाब कायम राखेको भरतपुरले गोलका राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्दा चुकचुकाउन परेको थियो ।

यद्यपि पाहुना टोलीले दोस्रो हाफमा भने सनसनीपूर्ण रुपमा पूनःरागमन गर्यो । ६४औं मिनटमा रुमेश बर्तौलाले बक्स नजिकैबाट गरेको सटिक प्रहारले गोलपोष्टको सही दिशा लिंदा भरतपुरले खेलमा फर्किने संकेत देखायो । खेल २–१ स्थितिमा रहँदा अन्तिमतिर ७७औं मिनटमा भरतपुरका जोन ग्लोरीले बक्स भित्रबाट गरेको कडा स्लिप प्रहार गोलमा परिणत भएको थियो ।

त्यो गोलसँगै खेल २–२ को रोमाञ्चक बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिनुपरेको थियो । पेनाल्टीमा पनि दुवैतर्फबाट भएका शुरुवाती तीन प्रहार गोलमा परिणत नहुँदा खेल थप रोमाञ्चित बन्न पुगेको थियो । तर पनि भरतपुरका लागि गोलरक्षक तथा कप्तान मनोज गुरुङ निर्णायक बने ।

गुरुङले विपक्षीका दुई पेनाल्टी प्रहार जोगाउँदै भरतपुरलाई टाईब्रेकरमा सनसनीपूर्ण जित दिलाउन अहम भूमिका खेले । गुरुङ खेलको म्यान अफ द म्याच समेत चुनिए । यो जितसँगै भरतपुर प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत पुष १२ गते आइतबारको खेल सुनौलो संगम युवा क्लब, देविनगर र लिस्नु युवा क्लब, कोटिहवाबीच हुने खेल संयोजक टेकु भण्डारीले जानकारी दिए ।

फर्साटिकर युवा क्लबको आयोजनामा यहि पुष १० गतेदेखि शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी र चितवनसहित १६ टोलीहरुको सहभागिता रहेको छ । फाइनल खेल भने आउँदो पुष २५ गतेका दिन हुनेछ ।

 

Post Comments