News रेडहर्ष इलाम लिम्बूनी ठूली स्मृति कपको सेमिफाइनलमा 
रमेश समदर्शी

अर्जुनधारा ३ खुदुनाबारीमा आजदेखि सुरु स्व. लिम्बूनी ठूली स्मृति कप २०८१ को उद्घाटन खेलमा जित निकाल्दै इलामको रेडहर्ष एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्थानीय कैदले प्राकृतिक रंगशालामा भएको खेलमा बिर्तामोडको बुट्टाबारी युनाइटेड क्लबलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै इलामले सेमिफाइनल यात्रा तय गरेको हो । इलामको जितमा किस्मत लिम्बूले गरेको गोल नै निर्णायक बन्यो । खेलको निर्धारित समय सकिएपछि थपिएको २ मिनेटमा किस्मतले गोल गरेका हुन् । उनी खेलको प्लेयर अफ दी म्याच बन्दै नगद ३ हजार ५ सय पाउन सफल भए ।

वर्षौंअघि भुटानी शरणार्थी शिविरमा आइतमाया सुब्बा सुहाङको स्मृतिमा च्यारिटी युथ क्लबले प्रतियोगिताको आयोजना गरेको हो । लिम्बूनी ठूलीको नामले परिचित आइतमायाको गतवर्ष निधन भएपछि उनका छोरा बाबी सुब्बाले स्मृति कपका लागि प्रायोजन गरेका हुन् । बाबी सुब्बा यतिबेला पुनर्वासका क्रममा अमेरिकामा रहँदै आएका छन् ।

दिवंगत आमालाई अर्जुनधारा खुदुनाबारीबासीमाझ जिवन्त राख्दै नेपाली फुटबलको विकासमा सानो सहयोग गरेको उनको भनाइ छ । बाबी आफैँ पनि फुटबल खेलाडी र प्रशिक्षकसमेत हुन् ।

भोलि (सोमबार) आयोजक च्यारिटी युथ क्लबले मोरङको इन्ट्रा पथरी ११ सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५५५ तथा उपविजेताले ७७ हजार ७७७ रुपैयाँ पाउने आयोजक समितिका संयोजक सूर्य इम्बुङले बताए । प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको रहेको छ।

Post Comments