
अर्जुनधारा ३ खुदुनाबारीमा जारी स्व. लिम्बूनी ठूली स्मृति कप २०८१ को दोस्रो क्वाटर फाइनलमा आयोजक च्यारिटी युथ क्लबलाई सडन डेथमा ५-४ गोलले पराजित गर्दै इन्ट्रा पथरी एघार मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्थानीय कैदले प्राकृतिक रंगशालामा भएको खेलमा निर्धारित समयमा दुई दुई गोलको बराबरी भएपछि खेल पेनाल्टी सुट आउट तर्फ धकेलिएको थियो । पेनाल्टि सुट आउटमा पनि चार चार गोलको बराबरी हुँदा नतिजा सडन डेथ मार्फत निकालिएको हो ।
आयोजकका दुई पेनाल्टी रोकेका पथरी एघारका गोल रक्षक समीर क्षेत्री खेलको प्लेयर अफ दी म्याच बन्दै नगद ३ हजार ५ सय सहित ट्रफि पाउँन सफल भए ।
वर्षौंअघि भुटानी शरणार्थी शिविरमा आइतमाया सुब्बा सुहाङको स्मृतिमा च्यारिटी युथ क्लबले प्रतियोगिताको आयोजना गरेको हो । लिम्बूनी ठूलीको नामले परिचित आइतमायाको गतवर्ष निधन भएपछि छोरा बाबी सुब्बा र उनका परिवारले स्मृति कपका लागि प्रायोजन गरेका हुन् ।
बाबी सुब्बा यतिबेला पुनर्वासका क्रममा अमेरिकामा रहँदै आएका छन् । दिवंगत आमालाई अर्जुनधारा खुदुनाबारीबासीमाझ जिवन्त राख्दै नेपाली फुटबलको विकासमा सानो सहयोग गरेको उनको भनाइ छ । बाबी आफैँ पनि फुटबल खेलाडी र प्रशिक्षकसमेत हुन् ।