News जे लिगको नयाँ सिजन शुरु हुने मिति घोषणा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एसियाली फुटबलमा प्रतिष्ठित जापानको शिर्ष लिग जे लिग वान फुटबलको नयाँ सिजन शुरु हुने मिति घोषणा भएको छ । सिजन २०२१ को जे लिग आउँदो फेब्रुअरी २७ तारीखदेखि डिसेम्बर ४ तारीखसम्म हुने एएफसीले खबर प्रकाशित गरेको छ ।

जे लिगको नयाँ सिजनमा यसपटक सहभागि टोलीहरुको संख्या १८ बाट बृद्धि गरि २० पुर्याइएको छ । र लिगका सबै खेलहरु होम एण्ड अवेका आधारमा हुनेछन् । स्मरण रहोस, कोभिड–१९ महामारीका कारण गत सिजन (२०२०) को जे लिगमा कुनै पनि टोलीलाई रेलिगेशनमा घटुवा गरिएको थिएन ।

साथै जे लिग २ बाट पनि थप दुई टिम गरि नयाँ सिजन २०२१ मा कुल २० टोलीले सहभागिता जनाउने तय भएको हो । यद्यपि त्यसपछिको सिजनमा भने जे लिगमा फेरि १८ टोलीहरु नै हुने बताइएको छ ।

एएफसीका अनुसार सिजनको समापनसम्म लिगतालिकाको पुछारमा रहेका चार टोलीहरु रेलिगेशनमा पर्नेछन् । त्यस्तै जै लिग टु मा शिर्ष दुईमा रहेका टोलीहरु जे लिग वानमा बढुवा हुनेछन् । साथै सन् २०२१ मा रेलिगेशन–प्रमोशनका लागि हुने प्ले अफ म्याच नहुने पक्का भएको छ ।

२०२० को जे लिग च्याम्पियन कावासाकी फ्रन्टेल

कोभिड–१९ का कारण प्भावित भएको सन् २०२० को जे लिग उपाधि कावासाकी फ्रन्टेलले जितेको थियो । कावासाकीले कुल ३४ खेलबाट ८३ अंक जोड्दै लिगतालिकाको शिर्ष स्थानमा रहेर सिजनको समापन गरेको थियो ।

त्यस्तै दोस्रो स्थानमा ६५ अंकका साथ गाम्बा ओसाका रहेको थियो भने तेस्रो स्थानमा ६३ अंकका साथ नागोया ग्रेम्पस थियो । चौथो स्थानमा भने ६० अंक जोडेको सेरेजो ओसाका रहेको थियो ।

 

Post Comments