News जुझारु फूलबारीको प्रभावशाली जित
सुरज राना मगर

बुटवल । शुरुवात मै गोल खानु अनि पाएको शुरुवाती पेनाल्टीलाई सदुपयोग नगर्नुका बावजुद प्रभावशाली जितका साथ फूलबारी गाईज, बुटवल जारी शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको प्रतिस्पर्धात्मक प्रिक्वाटरफाइनलतर्फ फूलबारीले शुरुवाती गोलले पछि परेको स्थिति उल्टाउँदै सम्पूर्ण युवा कलब, सुपौलीलाई ३–१ ले हरायो । खेलको १३औं मिनटमै राम शाहीले बक्सबाहिरबाट गरेको प्रहारलाई फूलबारीका गोलरक्षक तथा कप्तान किरन क्षेत्रीले जोगाउन नसक्दा सम्पुर्णले खेलमा अग्रता बनाएको थियो ।

पहिलो हाफ कै ३१औं मिनटमा सम्पूर्णका खेलाडीले सबी गुरुङलाई बक्स भित्र फल गर्दा फूलबारीले पेनाल्टीको अवसर पाएको थियो । तर पेनाल्टी प्रहार गर्न अघि सरेका आश गुरुङको शुट सम्पूर्णका गोलरक्षकले सही अनुमान लगाउँदै विफल तुल्याईदिएका थिए ।

तर खेलमा निरन्तर जुझारु प्रदर्शन गरेको फूलबारीले दोस्रो हाफमा फेरि पेनाल्टीको अवसर पाएको थियो । सम्पूर्णका खेलाडीले शरद क्षेत्रीलाई बक्स भित्र लडाएपछि फुलबारीले फेरि पेनाल्टी पायो । जसलाई ६४औं मिनटमा सबी गुरुङले गोलमा परिणत गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसको ६ मिनट लगतै प्रयास तामाङले बक्स भित्रैबाट हेडद्वारा सटिक गोल गर्दै फूलबारीलाई खेलमा २–१ को स्थितिमा पुर्याए । तर फूलबारी त्यति मै रोकिएन । खेलको ८४औं मिनटमा शरद क्षेत्रीले फूलबारीका लागि तेस्रो गोल गर्दै टोलीको प्रभावशाली जित सुनिश्चित गरे ।

मंगलबारको खेलको म्यान अफ द म्याच भने फूलबारी गाईजका एलिस मगर घोषित भए । प्रतियोगिता अन्तरगत पुष १५ गते बुधबारको खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र थर्ड आई युवा क्लब, जितपुर कपिलवस्तुबीच हुने खेल संयोजक टेकु भण्डारीले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन–४ फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने आउँदो पुष २५ गते शनिबारका दिन हुनेछ ।

Post Comments