
झुरझुरे । सहज र उत्कृष्ट जित हात पार्दै थ्रीस्टार क्लब, ललितपुर जारी सातौं बागमती गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार सम्पन्न क्वाटरफाइनलतर्फ थ्रीस्टारले हिमालयन शेर्पा क्लब, काठमाडौंलाई ४-० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
सहिद स्मृती रंगशालामा भएको खेलमा थ्रीस्टारका लागि नवीन लामा, फोडे फोफना, सुरज ठकुरी र एलेक्स करिमले गोल गरे । खेलमा थ्रीस्टारका नवीन लामा म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत फागुन ७ गते बुधबारको क्वाटरफाइनल खेल संकटा फुटबल क्लब, काठमाडौ र एपीएफ फुटबल क्लब, काठमाडौ बीच हुने आयोजकले जानकारी दियो ।
बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन १२ गतेका दिन हुनेछ ।