News सुनगाभा सैनामैना गोल्डकपः अभिषेक चर्च सेमिफाइनलमा
सुरज राना मगर

मुर्गिया । अभिषेक चर्च फुटबल क्लब, नवलपुर जारी सुनगाभा सैनामैना गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो क्वाटरफाइनलतर्फ अभिषेक चर्चले विभागीय टोली एपिएफ फुटबल क्लब, काठमाडौंलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

सैनामैना रंगशालामा भएको खेलमा अभिषेक चर्चका लागि सुजित बुढाथोकी र शक्ति गुरुङ्गले गोल गरे । पराजित एपिएफका लागि भने भरत कपालीले एक मात्र गोल फर्काएका थिए । खेलमा अभिषेक चर्चका सुजित बुढाथोकी प्लेयर अफ दि म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत फागुन २२ गते बिहीबारको दोस्रो क्वाटरफाइनल खेल हनामी बिएफसी, चितवन र महाबीर क्लब, काठमाडौंबीच हुने खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

त्यस्तै सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।

Post Comments