News कप्तान सबीको 'दुई कप्तानी गोल'सँगै फूलबारी फाइनलमा
सुरज राना मगर

बुटवल । कप्तान सबी गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि फूलबारी गाईज, बुटवल जारी शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा फूलबारीले शुरुवाती गोल खाएर पछि परेको स्थिति उल्टाउँदै सुनौलौ संगम युवा क्लब, देवीनगरलाई ५–१ ले हरायो । शुद्धोदन–४ बर्मेलीटोल स्थित फर्साटिकर माविको खेलमैदानमा भएको खेलमा सुनौलोका लागि खेलको १६औं मिनटमै राजिव लोप्चनले विपक्षी गोलरक्षकलाई बिट गर्दै बक्सभित्रबाट गोल गर्न सफल भए ।

तर, सुनौलोले त्यो अग्रता धेरैबेर जोगाउन सकेन । पहिलो हाफ कै २६औं मिनटमा कप्तान सबी गुरुङले बक्स बाहिरबाट गरेको सटिक प्रहार गोलपोष्टको बाँया कुना हुँदै बलले जाली चुमेको थियो । त्यो बराबरी गोलसँगै लयमा फर्किएको फूलबारीका लागि ३४औं मिनटमा क्षितिराज जिटीले बक्स बाहिरबाट गरेको अर्को सुन्दर प्रहार सिधै गोलमा परिणत भएको थियो ।

पहिलो हाफसम्म २–१ ले अगाडी रहेको फूलबारीले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो । ५९औं मिनटमा उमेश थापाको क्रस पासमा शरद क्षेत्रीले फूलबारीका लागि तेस्रो गोल गरे । तेस्रो गोल गरे लगतै हौसिएको फूलबारीका लागि ६५औं मिनटमा बक्स भित्र एकल प्रयासमा कप्तान सबी गुरुङले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।

तर फूलबारी त्यति मै रोकिएन । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका प्रयास तामाङले ७७औं मिनटमा फूलबारीका लागि पाँचौं गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरे । खेलको म्यान अफ द म्याच फूलबारीका कप्तान तथा दुई गोलकर्ता सबी गुरुङ घोषित भए ।

प्रतियोगिता अन्तरगत पुष २३ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल अर्को दावेदार टोली सेन्ट्रल कलेज भरतपुर एफसी, चितवन र चाँदनी युवा क्लब, दानापुरबीच हुने खेल संयोजक टेकु भण्डारीले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने पुष २५ गते शनिबारका दिन हुनेछ ।

Post Comments