News शिशिर निर्णायक बन्दा सताक्षीधाम फाइनलमा
गोलनेपाल

बेलबारी । शिशिर लेखी निर्णायक बनेपछि सताक्षीधाम स्र्पोटिङ क्लब, झापा जारी टुबोर्ग स्व. संजोग स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा सताक्षीधामले धरान सिटी एकेडेमी एफसी, सुनसरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल यात्रा पक्का गरेको हो । खेलमा सताक्षीधामका लागि ६४औं मिनटमा शिशिर लेखीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

खेलको म्यान अफ द म्याच भने सताक्षीधामका अर्का खेलाडी बिशाल दर्जी घोषित भए । उनलाई ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले २५५५ रुपैयाँसहित पुरस्कृत गरे ।

धनकुटेली र झापाली टोलीको फाइनल भेट

बिहीबारको खेल नतिजासँगै फाइनलमा भिड्ने दुई टोलीको टुंगो लागेको छ । पुष २५ गते शनिबार हुने फाइनल भिडन्तमा सताक्षीधामले रारा फुटबल क्लब, धनकुटाको सामना गर्नेछ । राराले बुधबार मात्रै पहिलो सेमिफाइनलमा विन्दावासिनी एफसीलाई हराएर फाइनल स्थान सुरक्षित गरेको थियो ।

बेलबारी फुटबल क्लब, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments