News हेटौडा गोल्डकपलाई भिडोलको साथ
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । यहि आउँदो माघ अन्तिम साताबाट हेटौंडामा हुने गोल्डकप फुटबल प्रतियोगिता–२०७७ का लागि आयोजक र प्रायोजकबीच बुधबार सम्झौता भएको छ ।

विजय युथ क्लब हेटौंडाको आयोजनामा हुन लागेको पहिलो संस्करणको हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताका लागि भिडोल लुब्रिकेन्टससँग आयोजकले प्रायोजन सम्झौता गरेको हो । हेटौंडाका लागि लुब्रिकेन्सको आधिकारीक विक्रेता वियन्सा सप्लायर्सका प्रोप्राइटर विकास नेपाल र क्लबका सल्लाहकार राजेश भेटवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए .

अब प्रतियोगिताको नाम ‘भिडोल लुब्रिकेन्टस हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता’ हुनेछ । माघ २२ गतेबाट फागुन १ गतेसम्म हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा हुने प्रतियोगितामा मोफासलका दश टोलीहरुको सहभागिता रहनेछ ।

फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघले ‘ए’ डिभिजन क्बलहरुलाई तत्कालका लागि देशभरका विभिन्न स्थानमा हुने नकाउट फुटबलमा सहभागी हुन अनुमति नदिएका कारण मोफासलका टोलीहरुको उपस्थितिमा प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक क्लबका अध्यक्ष सुदिप राजबाहकले बताए । प्रतियोगितामा मोफसलका टिमहरु मात्र सहभागी हुनेछन् ।

यस्ता छन् सहभागी टोलीहरुः

प्रतियोगितामा आयोजक एफसी विजय युथ, नवजनजागृती युवा क्लब सिमरा, वीरगञ्ज युथ एकेडेमी, वीरगञ्ज युनाइटेड, सर्लाही –११, दुधौली स्पोर्टस् क्लब सिन्धुली, हर्दी युवा समाज चितवन, सेन्ट्रल कलेज भरतपुर चितवन, एफसी रियाले काठमाडौंको सहभागीता रहनेछ ।

प्रतियोगिताको पुरस्कार रकम

प्रतियोगिताको विजेताले उपाधिसहित नगद तीनलाख रुपैयाँ र उपविजेताले एकलाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट हुने गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई पनि जनही नगद पाँच–पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

साथै प्रतियोगिता अवधिभर प्रत्येक खेलको म्यान अफ द म्याच पुरस्कारको पनि व्यवस्था गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Post Comments