News लामालाई नव जनजागृती युवा क्लबको जिम्मेवारी
गोलनेपाल

सिमरा । मोफसलको प्रतिष्ठित फूटबल प्रतियोगिता सिमरा गोल्डकपको आयोजक नव जनजागृती युवा क्लबको अध्यक्षमा रामचन्द्र लामा चयन भएका छन । क्लबको बिहीवार सिमरामा सम्पन्न १३औं वार्षिक साधारणसभाले लामाको नेतृत्वमा १४ सदस्यीय समिति चयन गरेको हो ।

लामा अखिल नेपाल फूटबल संघ बाराका वरिष्ठ उपाध्यक्ष, ग्रासरुट फूटबल बाराका संयोजक र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ बाट निर्वाचित वडा सदस्य समेत हुन ।

त्यस्तै निर्वाचित समितिको उपाध्यक्षमा दुर्गाबहादुर थापा, महासचिव शम्भुसिंह ठकुरी, सचिव श्यामकृष्ण सुवेदी, कोषाध्यक्ष शालिकराम अधिकारी रहेका छ्न ।

सदस्यहरुमा भने शोभा कार्की, समीर आले, विक्रम श्रेष्ठ, विनोद देवकोटा, निराजन थापा, गोविन्द गहतराज, सोनु क्षेत्री, निरोज पुडासैनी र सोमलाल बम्जन सर्वसम्मत चयन भएका छन । निर्वाचित समितिको आगामी बैठकले थप एक उपाध्यक्ष र दुई सदस्य मनोनीत गर्ने महासचिव ठकुरीले जानकारी दिए ।

यसअघि साधारणसभाको उदघाटन जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले गरेका थिए । साधारणसभालाई सम्बोधन गर्दै मेयर डा. पौडेलले सिमरामा फूटबलसंगै अन्य खेलकुदको विकासमा उपमहानगरपालिकाको कार्यालय सहकार्य र योजनासहित अघि बढिरहेको बताए ।

साधारणसभाबाट निर्वाचित अध्यक्ष लामासहित पदाधिकारीलाई निवर्तमान अध्यक्ष कासिम मियाले नेतृत्व हस्तान्तरण गरेका थिए । स्मरण रहोस, मियाको नेतृत्वमा सिमरा गोल्डकपले राष्ट्रिय पहिचान बनाउन सफल भएको थियो ।

Post Comments