News रोमाञ्चक फाइनलमा फूलबारी बन्यो च्याम्पियन
सुरज राना मगर

बुटवल । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनलमा फूलबारी गाईज शुद्धोदन गाउँपालिका आठौं फर्साटिकर कप फुटबल प्रतियोगिताको विजेता बनेको छ । शनिबार सम्पन्न कडा फाइनल भिडन्तमा फूलबारीले सेन्ट्रल कलेज भरतपुर, फुटबल क्लब, चितवनलाई टाईब्रेकरमा ५–४ ले हराउँदै विजेता बन्न सफल भएको हो ।

शुद्धोदन–४ बर्मेलीटोल स्थित फर्साटिकर माविको खेलमैदानमा प्रतिस्पर्धात्मक खेलमा निर्धारित ४५–४५ मिनटको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलमा फूलबारीले दुईपटकको अग्रता जोगाउन नसक्दा जितका लागि टाईब्रेकरसम्म पर्खनुपरेको थियो ।

पहिलो हाफतर्फ ३८औं मिनटमा शरद क्षेत्रीले बक्सभित्र गरेको सटिक हेडर गोलबाट फूलबारीले खेलमा अग्रता बनाएको थियो । तर त्यो अग्रता पहिलो हाफसम्म मात्र कायम रह्यो । दोस्रो हाफ शुरु भएको चार मिनट लगतै लगतै भरतपुरका लागि रुमेश बर्तौलाले बराबरी गोल फर्काएका थिए ।

प्रतिस्पर्धात्मक दोस्रो हाफको ७१औं मिनटमा फेरि शरद क्षेत्रीले नै फूलबारीलाई दोस्रोपटक खेलमा अग्रता दिलाए । नतिजा निर्धारित समयमै फूलबारीको पक्षमा जाने संघारमा थियो । तर इन्जुरी समयको ९०+२औं मिनटमा फोडे फोफोनाले करिब ३० यार्ड टाढाबाट गरेको कडा प्रहार विपक्षीको पोष्टको माथिल्लो बाँया कुना च्याप्दै आकर्षक गोलमा परिणत भएपछि खेल रोमाञ्चक २–२ को बराबरीमा आएको थियो ।

टाईब्रेकरमा भने भरतपुरका डिफेन्डर सुदान्स चौधरीको प्रहार फूलबारीका गोलरक्षक अमानत शेखले डाईभ गर्दै जोगाए । सोही बलले बारमा लाग्दै रिबाउण्ड भएपछि नतिजा फूलबारीको पक्षमा गएको थियो । फाइनल खेलको म्यान अफ द फूलबारीका दुई गोलकर्ता शरद क्षेत्री घोषित भए ।

विजेता बनेको फूलबारीले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता भरतपुरले १ लाखमा चित्त बुझायो । फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका फर्साटिकरको आयोजनामा गत पुष १० गतेदेखि शुरु भएको प्रतियोगितामा रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु र चितवनका गरी कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

सबैप्रति आभार र धन्यवादः अध्यक्ष कुँवर

प्रतियोगिताको समापनका अवसरमा बोल्दै आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुँवरले यो कठिन परिस्थतिमा पनि प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिए ।

सबैसँगको सहकार्य र टिमवर्कले नै प्रतियोगिताले अहिलेसम्म निरन्तरता पाएको चर्चा गर्दै उनले आगामी दिनहरुमा पनि प्रतियोगितालाई निरन्तर सभ्य र भव्यरुपमा आयोजना गर्दे जाने योजना रहेको बताए ।

Post Comments