News रारालाई स्व. संजोग स्मृति कपको उपाधि
गोलनेपाल

बेलबारी । टुबोर्ग स्व. संजोग स्मृति कप नकआउट फुटबल प्रतियोगिताको उपाधि रारा फुटबल क्लब, राजारानी धनकुटाले जितेको छ । प्रतिस्पर्धात्मक फाइनलमा सताक्षीधाम स्र्पोटिङ क्लब, झिलझिले झापालाई ४–३ ले हराउँदै रारा विजेता बनेको हो ।

यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । पेनाल्टी शुटआउटमा राराका लागि सुनिल खड्का, बद्ध चेम्जोङ, उमेश कार्क र सुर्य अधिकारीले गोल भने रुपेश केसी चुकेका थिए । त्यस्तै सताक्षीधामका लागि एन्जल गुरुङ, प्रमोद चौधरी र शिशिर लेखीले मात्र गोल गर्न सके । संजीत राई र बिशाल दर्जीको प्रहार भने चुकेको थियो ।

विजेता बनेको राराले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्यो । त्यस्तै उपविजेता सताक्षीधाम स्र्पोटिङ क्लबले भने ३३,३३३ रुपैयाँमा चित्त बुझायो । बेलबारी फुटबल क्लब, मोरङको आयोजनामा गत पुष १६ गतेदेखि शुरु प्रतियोगितामा प्रदेश नम्बर १ का कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।

बेलबारी नगरपालिकाको संयोजनमा सम्पन्न भएको प्रतियोगिताको फाइनलमा बिजयी खेलाडीहरुलाई एक कार्यक्तमका बीच बेलबारी नगरपालिका, मोरङका नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले पुरस्कत गरेका थिए ।

Post Comments