News फुटबल मै समर्पित प्रशिक्षक गुरुङलाई सम्मान
सुरज राना मगर

बुटवल । रुपन्देहीको फुटबलमा आफ्नो अमिट छाप छाडेका फुटबल प्रशिक्षक याम प्रसाद गुरुङलाई उनले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको छ ।

बुटवल देवीनगर स्थित श्री नविन औद्योगिक कदर बहादुर रीता माविको प्राङ्गणमा एक कार्यक्रमका बीच बुटवल नगर खेलकुद विकास समितिले प्रशिक्षक गुरुङलाई सम्मानित गरेको हो । सम्मान कार्यक्रममा प्रशिक्षक गुरुङलाई दोसल्ला ओडाई कदरपत्र र मायाको चिनोसहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा उपस्थित बुटवल नगर खेलकुद विकास समितिका संयोजक नन्दु काउचाले प्रशिक्षक गुरुङले जिल्लाको फुटबल विकासमा प्रशंसनीय कार्य गरेकै कारण आफूहरुले सम्मानित गरेको बताए । साथै उनले प्रशिक्षक गुरुङ जस्ता खेल व्यक्तित्वहरुको जिल्लामा मात्र नभएर राष्ट्रियस्तरमै अझै खाँचो रहेको समेत औंल्याए ।

फुटबल मै समर्पित छन् याम

फुटबलमा एक दशक भन्दा बढी समय खर्चिसकेका प्रशिक्षक गुरुङले स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म राम्रा खेलाडीहरुलाई आफ्ना चेला बनाइसकेका छन् । हाल उमेर समूहदेखि सिनियर राष्ट्रिय फुटबल टोलीको चल्तीका खेलाडीहरु बिमल घर्ती मगर, नितीन थापा, रेजिन सुब्बा जस्ता फुटबल स्टारहरु प्रशिक्षक गुरुङ कै मेहनतका उदाहरण हुन् ।

यी बाहेक गौरव बुढाथोकी, शिव सुबेदी, सुदन थापा, आकाश थापा, सबी गुरुङ जस्ता थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुलाई पनि उनले आफ्नो प्रशिक्षकीय निपूणताले निखारेका छन् ।

उमेर समूहतर्फ राष्ट्रिय स्तरका टोलीहरुलाई अन्तर्राष्ट्रिय फुटबल मैदानमा अनेक उपलब्धी र सफलता पनि हासिल गराएका प्रशिक्षक गुरुङ रुपन्देहीबाट एएफसी ए कोचिङ लाइसेन्स पाउने दुई मध्ये एक प्रशिक्षक समेत हुन् । गुरुङ बाहेक पूर्वखेलाडी तथा प्रशिक्षक मधु कार्कीले पनि एएफसी ए कोचिङ लाइसेन्स प्राप्त गरेका थिए । यद्यपि हाल काकी अमेरिमामा बसोबास गर्छन् ।

नेपाली फुटबलले कोल्टे फेरेको हेर्न चाहन्छन प्रशिक्षक गुरुङ

सालिन र सभ्य जिवनशैली अंगालेका प्रशिक्षक गुरुङले सम्मानित भएपछि खुशी व्यक्त गरे । यस्ता सम्मानले आफूलाई फुटबलमा थप कटिवद्ध भएर लाग्न उत्साहित बनाउने उनको बुझाई थियो । प्रशिक्षक गुरुङ भन्छन्, "फुटबलमा लागेर पाउने यस्ता सम्मानले मलाई सधै उर्जा दिने गर्छ । फुटबलमा राम्रो सपना देख्ने साना बाल खेलाडीहरुलाई उनीहरुले देखेको सपना पूरा गराउन पाउँदा सधै आनन्दित महशुस गर्र्छु ।"

उनी अगाडी भन्छन्, "समय सापेक्ष नेपाली फुटबल जति धर्मराए पनि फुटबल प्रशिक्षणप्रतिको मेरो लगाव र झुकाव निरन्तर अघि बढिरहनेछ । स्थानीयदेखि अन्तर्राष्ट्रियस्तर मै नेपाली फुटबललाई माथी उकास्न चाहन्छु । फुटबल मै भविष्य खोज्नेहरुलाई मेरो साथ र सहकार्य सधै छ । यसैमा म समर्पित पनि छु ।"

 

 

Post Comments