News सडन डेथको जितसँगै बिराटनगर सेमिफाइनलमा
गोलनेपाल

बेलबारी । सडन डेथमा हात पारेको जितसँगै बिराटनगर फुटबल क्लब जारी माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिस्पर्धात्मक अन्तिम क्वाटरफाइनलमा बिराटनगरले एपिएफ, सुनसरीलाई सडन डेथमा ७–६ ले निराश तुल्याउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि सोमबार नक्सलबारी खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा दुवै गोल दोस्रो हाफमा सम्पन्न भएका थिए । यद्यपि अग्रता भने बिराटनगरले नै लिएको थियो । ६५औं मिनटमा मिलन राईको पेनाल्टी गोलबाट बिराटनगरले खेलमा अग्रता बनाएको थियो ।

तर ७१औं मिनटमा रन्जन मगरले एपिएफका लागि बराबरी गोल गर्दै खेललाई रोमाञ्चक १–१ को स्थितिमा पुर्याएका थिए । पेनाल्टी शुटआउटमा भने बिराटनगरका लागि अनिल धामी, साइमन लिम्बु, पदम भट्टराई, मनोज राई, अशोक खवास, शिशिर लेखी र विरेन्द्र लिम्बुले गोल गरेका थिए । त्यस्तै मिलन राई भने गोल गर्न चुकेका थिए ।

उता एपिएफ सुनसरीका लागि बुद्धिमान राई, उज्वल चाम्लिङ, सबिन थापा, नबिन चौधरी, रन्जन मगर र बलराम निरौलाले गोल गरे । हरि कार्की र फुसन मुरमुरको प्रहार भने गोलमा परिणत हुनबाट असफल भएको थियो ।

खेलको म्यान अफ द म्याच बिराटनगरका अशोक खवास घोषित भए । उनलाई सशस्त्र प्रहरीका एसपी राजेश उप्रेतीले पुरस्कत गरे । प्रतियोगिता अन्तरगत पुष २८ गते मंगलबारको पहिलो सेमिफाइनल खेल लेटाङ फुटबल क्लब र सतिसाले युनियनबीच हुने आयोजकले जनाएको छ ।

नेपाल मगर संघ, बेलबारी–१ नक्सलबारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो माघ १ गतेका दिन हुनेछ ।

Post Comments