Province 1 आयोजक झरना बन्यो च्याम्पियन
गोलनेपाल

सुन्दरहरैचा । प्रथम प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक झरना युवा क्लबले जितेको छ । फाइनलमा धरान सिटी फुटबल एकेडेमी, सुनसरीलाई सडन डेथमा हराउँदै आयोजक झरनाले उपाधिमाथि कब्जा जमाएको हो ।

सुन्दरहरैचा–९ स्थित इन्द्रपुर खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । खेलको ६७औं मिनटमा तपन कार्कीको गोलबाट धरानले खेलमा अग्रता बनाएको थियो । तर ७४औं मिनटमा बिजय भुजेलले भरनाका लागि बराबरी गोल फर्काउन सफल भएका थिए ।

त्यसपछि टाईब्रेकरबाट पनि खेलको छिनोफानो हुन नसकेपछि खेल सडन डेथतर्फ धकेलिएको थियो । सडन डेथमा भने झरनाले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको झरनाले उपाधिसहित १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता धरान सिटीले ५१,१११ रुपैयाँमा चित्त बुझायो । फाइनल खेलको म्यान अफ द म्याच आयोजक झरना कै मनोज राई घोषित भए ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक झरनाका पुर्ण चेम्जोङ चुनिाए भने उत्कृष्ट डिफेन्डर धरान सिटीका बिष्णु सुनुवार घोषित भए । उत्कृष्ट मिडफिल्डर झरना कै दोर्जे तामाङ चुनिदा उत्कृष्ट फरवार्ड पनि झरना कै निशान लिम्बु घोषित भए ।

उत्कृष्ट प्रशिक्षक पनि आयोजक झरना कै तिलक पुरी चुनिए । त्यस्तै प्रतियोगिताभरि कुल ५ गोल गरेका झरनाका बिजय भुजेलले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । उदीयमान खेलाडी पनि झरना कै अजर अली घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने आयोजक झरनाका अशोक खवास घोषित भए । उनले पुरस्कार वापत नगद ७५०० सय हात पारे । विजयी खेलाडीहरुलाई प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायत अन्य तथिीहरुले एक कार्यक्रमका बीच पुरस्कृत गरे ।

झरना युवा क्लब, सुन्दरहरैचा–९ बिराटचोक, मोरङको आयोजनामा गत फागुन १ गतेदेखि शुरु प्रतियोगितामा प्रदेश नम्बर १ का कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments