बेलका । तेस्रो बेलका गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा इस्ट स्टार स्पोर्टिङ क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै मोरङको एलएक्स सिटी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।
उदयपुर जिल्लाको बेलका नगरपालिका–६ स्थित लेखाली खेलमैदानमा आज सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
खेलमा इस्ट स्टारले सुरुवाती अग्रता लिएको थियो। इस्ट स्टारका विदेशी खेलाडी बिन्देले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। एलएक्स सिटीका गोलकिपर प्रमिन्जे गच्छदारले बल नियन्त्रणमा लिन खोज्दा हातबाट फुत्किएको बललाई सदुपयोग गर्दै बिन्देले गोल गरेका थिए।
तर, पहिलो हाफमै एलएक्स सिटीका मौसम सुब्बाले बक्सबाहिरबाट उत्कृष्ट प्रहार गर्दै गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।
दोस्रो हाफमा पनि दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे। एलएक्स सिटीका मिलन चाम्लिङ राईले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। तर, इस्ट स्टारका सञ्जय धिमालले गोल फर्काउँदै खेललाई पुनः २–२ को बराबरीमा ल्याए।
निर्धारित समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा एलएक्स सिटीका गोलकिपर प्रमिन्जे गच्छदारले उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा प्रहार बचाएपछि एलएक्स सिटी ४–२ गोलले विजयी हुँदै फाइनलमा पुग्न सफल भयो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर प्रमिन्जे गच्छदार प्लेयर अफ द म्याच घोषित भए।
अब प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि हनामी बीएफसी भरतपुर फुटबल क्लब र चिल्ड्रेन हार्ट क्लबबीच प्रतिस्पर्धा हुनेछ।
- प्रताप राई चम्किँदा सातदोबाटो युथ क्लब त्रियुगा गोल्डकपको फाइनलमा
- हनामी बीएफसी भरतपुर म्याक्स टाइगर तेस्रो बेलका गोल्डकपमा सेमिफाइनलमा
- त्रियुगा गोल्डकप: नेपाल पुलिस क्लबलाई हराउँदै भारतको जर्जियन युनाइटेड सेमिफाइनलमा
- समीर तामाङ चम्किँदा सातदोबाटो युथ क्लब ललितपुर सेमिफाइनलमा प्रवेश
- त्रियुगा गोल्डकपः रोमाञ्चक टाइब्रेकरमा चित्लाङमाथि न्यु स्टारको जित