Province 1 बिराट गोल्डकप शुरु, बिराटनगरको विजयी शुरुवात
गोलनेपाल

बिराटनगर । बिहीबारदेखि शुरु प्रतिष्ठित बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा घरेलु टोली बिराटनगर–११ ले विजयी शुरुवात गरेको छ ।

शहिद रंगशालामा कृत्रिम प्रकाशमा भएको उद्घाटन खेलमा बिराटनगरले युनाइटेड सिक्किम एफसी, भारतलाई २–१ ले हरायो । बिराटनगरको जितमा खेल शुरु भएको आठौं मिनटमा प्रकाश बुढाथोकीले पहिलो गोल गरेका थिए ।

यद्यपि खेलको १५औं मिनटमा साङुगे छोपेन भुटियाले सिक्किमका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ को बराबरीमा सकिए तापनि दोस्रो हाफमा फेरि बिराटनगरले नै गोल गर्न सफल भएको थियो ।

५३औं मिनटमा प्रकाश बुढाथोकीले नै बिराटनगरका लागि दोस्रो तथा निर्णायक गोल गर्दै घरेलु टोलीलाई रोमाञ्चक जित दिलाएका थिए । खेलको म्यान अफ द म्याच पनि बुढाथोकी नै घोषित भए । उनले पुरस्कार वापत नगद १५ हजार र ट्रफी हात पारे ।

यो जितसँगै बिराटनगर प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । क्वाटरफाइनलतर्फ बिराटनगरले चैत्र २८ गतेका दिन बलियो मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत चैत्र २७ गतेको खेल गोर्खा ब्वाईज क्लब, रुपन्देही र पञ्जाब पुलिस, भारतबीच हुने आयोजकले जनाएको छ ।

बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने आउँदो बैशाख ४ गतेका दिन हुनेछ ।

त्यसअघि बिहीबार प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

 

Post Comments