Province 1 देउमाइ र जनता सेभेन सन्दकपुर गोल्डकपको फाइनलमा
रमेश समदर्शी

देउराली (खेलदैनिक) । देउमाइ नगरपालिका र जनता सेभेन सूर्योदय प्रथम सन्दकपुर गोल्डकपको फाइनलमा बुधबार उपाधिका लागि भिड्ने भएका छन् ।

इलामको सन्दकपुर गाउँपालिका देउराली बजारस्थित सातखाल्डे सहिद खेलमैदानमा मंगलबार आयोजित पहिलो सेमिफाइनलमा माइ नगरपालिकालाई १–० गोलअन्तरले पराजित गर्दै देउमाइ नगरपालिकाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

माइ नगरपालिकको आत्मघाती गोलको उपहारले देउमाइ लाई फाइनलमा पुग्न सहज बनेको हो । खेलमा देउमाइका सञ्जय लिम्बू म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै, योङ ब्वाइज साखेजुङ एफसीलाई ०–२ ले पराजित गर्दै जनता सेभेन पनि फाइनलमा प्रवेश गर्यो । प्रतिस्पर्धात्मक खेलमा जनता सेभेनका लागि खेलको इन्जुरी समयमा गोल सम्भव भएको हो ।

खेल सकिन अन्तिम ३ मिनेट बाँकी रहँदा शेरुहाङ लिम्बूले दुवै गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच समेत घोषित भए ।

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको विशेष सहयोग जारी गोल्डकपको विजेताले नगद १ लाख १ हजार १११ र उपविजेताले ५० हजार ५५५ रुपैयाँ र ट्रफी पाउनेछ ।

Post Comments