इलाम । उत्कृष्ट जितका साथ मच्छिन्द्र फुटबल क्लब, काठमाडौं, इलाममा जारी एनआरएनए तेस्रो इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा मच्छिन्द्रले इन्ट्रा पथरी ११ फुटबल क्लबलाई ५–२ को अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । टुँडिखेल मैदानमा भएको खेलमा मच्छिन्द्रका लागि मिलन चाम्लिङ राईले दुई गोल गर्दा सौरभ लिम्बु, अविनाश स्याङतन र श्याम मुर्मुले समान एक–एक गोल गरे । उता पराजित इन्ट्रा पथरीका लागि मौसम लिम्बु र सुजल डंगोलले गोल गरेका थिए । खेलमा मच्छिन्द्रका दुई गोलकर्ता मिलन चाम्लिङ राई प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत बैशाख १० गते बिहीबारको दोस्रो सेमिफाइनल खेल रोलिङ क्लब, झापा र न्युरोडटिम (एनआरटी) बीच हुने आयोजकले जानकारी दियो ।
रेड हर्ष फुटबल क्लब, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल बैशाख १२ गतेका दिन हुनेछ ।