Province 1 २३औं गोधुली कपः धरान १६ सेमिफाइनलमा
गोलनेपाल

धरान । संघर्षपुर्ण जितका साथ धरान १६ यहाँ जारी २३औं गोधुली कप रनिङ्ग शिल्ड वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा धरान १६ ले धरान १४ माथि टाईब्रेकरमा ४–२ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरतर्फ धकेलिएको थियो । टाईब्रेकरमा धरान १६ ले नतिजा आफ्नो पक्षमा पार्यो ।

निर्धारित समयतर्फ धरान १४ ले ३१औं मिनटमा सरोज राईको गोलबाट अग्रता बनाएको थियो । यद्यपि ४४औं मिनटमा सरोज लकान्द्रीले धरान १६ का लागि बराबरी गोल फर्काएका थिए । त्यस्तै ६३औं मिनटमा लाकेन लिम्बुको गोलबाट धरान १६ ले खेलमा अग्रता बनायो । तर टोलीको त्यो अग्रता एक मिनट पनि टिक्न सकेन । लगतै ६४औं मिनटमा बिबेक राईले धरान १४ का लागि बराबरी गोल फर्काएका थिए ।

खेलमा धरान १६ का गोलरक्षक रितेश निरौला म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ ९ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल वार्ड नम्बर ११ र १५ बीच हुने आयोजकले जानकारी दियो ।

गोधुली क्लब धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । कुल २० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल माघ १४ गतेका दिन हुनेछ ।

Post Comments