बराहक्षेत्र । झिनो अन्तरको जितका साथ यहाँ सम्पन्न १०औं सप्तकोशी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि न्यु स्टार क्लब, कालाबंजर, सुनसरीले जितेको छ ।
फाइनलमा चुलाचुली फुटबल क्लब, दमक, झापालाई शून्यका विरुद्ध १ गोलको अन्तरले हराउँदै न्यु स्टार सप्तकोशी गोल्डकपको च्याम्पियन बनेको हो । न्यु स्टारको जितमा सुनिल खड्काले एक मात्र निर्णायक गोल गर्दै टोलीलाई विजेता बनाउन निर्णायक भूमिका खेले ।
विजेता बनेको न्यु स्टारले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता चुलाचुलीले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
फाइनल खेलमा निर्णायक गोल गरेका न्यु स्टारका सुनिल खड्का म्यान अफ दि फाइनल म्याच घोषित भए । त्यसवापत उनले नगद ३ हजार र ट्रफी हात पारे ।
न्यु स्टार कै सौरभ बराल उत्कृष्ट गोलरक्षक बन्दा बिशाल भण्डारी उत्कृष्ट डिफेन्डर चुनिए । चुलाचुलीका पारस कार्कीले उत्कृष्ट मिडफिल्डरको पुरस्कार हात पार्दा न्यु स्टारका सुशिल राई उत्कृष्ट फरवार्ड चुनिए ।
उत्कृष्ट प्रशिक्षक पनि न्यु स्टार कै अनिल धामी बने । उदीयमान खेलाडी भने आयोजक सप्तकोशी युवा क्लबका अनिष परियार चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने चुलाचुलीका भबिन बोहरा र पुजन चौधरीले संयुक्त रुपमा हात पारे । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार र ट्रफी हात पारे ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने न्यु स्टारका संजय श्रेष्ठ घोषित भए । त्यसवापत उनले नगद ८ हजार र ट्रफी हात पारे ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की लगायतले पुरस्कृत गरेका थिए ।