Province 2 फेरि संकटा र अफ्रिकनको फाइनल भेट तय
गोलनेपाल

सिमरा । विश्वकर्मा सिमेन्ट ११औं जितपुर सिमरा गोल्डकपको फाइनलमा संकटा क्लब र अफ्रिकन रुटस एसोसिएशन, क्यामरुन भिड्ने भएका छन् । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा संकटाले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–१ ले हराउँदै फाइनलमा पुगेपछि अफ्रिकनसँगको फाइनल भेट पक्का गरेको हो ।

स्मरण रहोस, संकटा र अफ्रिकन यसअघि गत महिना पोखरामा सम्पन्न प्रतिष्ठित १९औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा भिडेका थिए । त्यतिबेला संकटाले अफ्रिकनलाई टाईब्रेकरमा हराउँदै उपाधि उचाल्न सफल भएको थियो ।

बिहीबार सिमरा रंगशालामा भएको खेलमा संकटाका लागि प्रकाश बुढाथोकीले २२ र ३७औं मिनटमा गरि दुई गोल गरेका थिए । त्यस्तै थप एक गोल भने ६१औं मिनटमा फोडे फोफोनाले गरे । उता पराजित एपिएफका लागि खेलको अन्तिमतिर प्रदिप लामाले गोल फर्काए तापनि विभागीय टोलीको हार भने टार्न सकेनन् ।

खेलको म्यान अफ द म्याच संकटाका लागि दुई गोल गरेका प्रकाश बुढाथोकी चुनिए । उनले त्यसवापत नगद ५ हजार र ट्रफी हात पारे । फाइनलमा संकटाले शनिबार अफ्रिकनसँग खेल्नेछ ।

नव जनजागृति युवा क्लब, सिमराको आयोजना तथा जितपुर सिमरा उपमहानगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments