Province 2 ओस्कार चम्किदा गुरुधाम सेमिफाइनलमा
गोलनेपाल

गोलबजार । गुरुधाम फुटबल क्लब, गुरुधाम जारी छैठौं गोलबजार मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ । बिहीबार सम्पन्न चौथो क्वाटरफाइनलमा गुरुधामले क्षमादेवी प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

गोलबजार एकिकृत खेलग्राममा भएको खेलमा गुरुधामका लागि विदेशी खेलाडी ओस्कारले दुवै गोल गरे । उता पराजित प्लानिङ ब्वाईजका लागि प्रताप राईले एक मात्र गोल फर्काएका थिए ।

खेलमा गुरुधामका लागि निर्णायक बनेका ओस्कार म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत बैशाख १५ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल मकवानपुर–११ र बिरगंज युनाइटेडबीच हुने आयोजकले जानकारी दियो ।

गोलबजार नगरपालिका, गोलबजार, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । फाइनल खेल यही बैशाख १८ गतेका दिन हुनेछ ।

Post Comments