Province 2 सिमरामा भोलिदेखि दोश्रो रामनारायण मिश्र फुटलब प्रतियोगिता हुने
गोलनेपाल

बाराको सिमरामा भोलिदेखि शुरु हुने दोश्रो राम नारायण मिश्र फुटबल प्रतियोगिता २०८० को सम्पुर्ण तयारी पुरा भएको छ ।

आयोजक मधेश प्रदेश फुटबल संघले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको अन्तिम तयारीबारे जानकारी गराएको हो । सिमरा रंगशालामा भोलिदेखि शुरु हुने प्रतियोगिता असार १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्किले जानकारी दिनुभयो ।

अध्यक्ष कार्किले प्रतियोगिताको बिजेताले नगद ५० हजार र उप बिजेताले ३० हजार रुपैया पाउने बताउनुभयो । प्रतियोगितामा पर्सा जिल्ला फुटबल संघ, बारा जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, सिराहा जिल्ला फुटबल संघ, महोत्तरी जिल्ला फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ, सर्लाही जिल्ला फुटबल संघ र सप्तरी जिल्ला फुटबल संघको सहभागिता रहनेछ । सिमरा रंगशालामा रातीको समयमा फ्लड लाईटमा सञ्चालन हुने प्रतियोगिताको भोलि एक कार्यक्रमकाबिच मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले उद्घाटन गर्ने अध्यक्ष कार्किले बताउनुभयो ।

बारा जिल्ला फुटबल संघको सह आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेल बारा जिल्ला फुटबल संघ र पर्सा जिल्ला फुटबल संघबिच हुनेछ । दुई टिमबिचको उद्घाटन खेल दिउसो ४ बजेदेखि शुरु हुनेछ । पत्रकार सम्मेलनमा अध्यक्ष कार्किले प्रतियोगितामा प्रत्यक दिन म्यान अफ द म्याचको ट्रफिसहित विधागत पुरस्कारको समेत व्यवस्था गरिने बताउनुभयो । प्रतियोगिताको ब्रोडकाष्टिङ पार्टनरमा गोल नेपाल डटकम रहेको छ ।

आयोजकले खेलाडी, रेफ्रि, अफिसियल, आयोजक र दर्शकको लागी ईन्सुरेन्सको समेत व्यवस्था गरेको जनाएको छ । प्रवेश शुल्क निशुल्क रहने प्रतियोगितामा तेश्रो स्थानको लागी पनि हुने प्रतिस्पर्धा हुने बताईएको छ । रामनारायण मिश्र फुटलब प्रतियोगिताको पहिलो संसकरण धनुषाको महेन्द्र नगरमा भएको थियो । पहिलो संसकरणको बिजेता सर्लाही जिल्ला फुटबल संघ र उप बिजेता बारा जिल्ला फुटबल संघ भएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै मधेश प्रदेश फुटबल संघका बरिष्ठ उपाध्यक्ष विजय गुप्ताले प्रतियोगिताले जीतपुरसिमराको विकासमा ठुलो टेवा पुग्ने बताउनुभयो । मधेश प्रदेश फुटबल संघका कोषाध्यक्ष शम्भुसिंह ठकुरीले सबै मिलेर प्रतियोगिता सफल बनाउनुपर्ने बताउनुभयो ।

बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले प्रतियोगिताले यस क्षेत्रको आर्थिक विकासमा ठुलो सहयोग पुग्ने बताउनुभयो । लामाले मधेश प्रदेश स्तरीय खेलको व्यवस्थापन बाराले पाउनु निकै खुशीको बिषय भएको बताउनुभयो । मधेश प्रदेश फुटबल संघका अध्यक्ष नेपाल कार्किको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन महासचिव विकाश शाहले गर्नुभएको थियो ।

Post Comments