ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बिराज महर्जन, गोलरक्षक बिकेश कुथु लगायतले सञ्चालन गरेको ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले फरक किसिमका (न्युरोडाइभर्स) बालबालिकाहरुका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

ट्रेनिङ सेन्टरले राष्ट्रिय टोलीकै पूर्व फिजियोथेरापिस्ट शमेद कटिला श्रेष्ठ र सुरज भुषालद्वारा सञ्चालित नियो चाईल्ड केयर सेन्टरसँगको सहकार्यमा उक्त विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।

‘सँगै खेलौंः लेट्स प्ले टुगेदर’ नाम दिइएको सो विशेष फुटबल प्रशिक्षण कार्यक्रममा सामान्य भन्दा केही फरक अटिजम स्पेक्ट्रम डिसअर्डर, डाउन सिन्ड्रोम भएका न्युरोडाइभर्स बालबालिकाहरुले फुटबल प्रशिक्षण लिनेछन् ।

सो विशेष फुटबल प्रशिक्षण कार्यक्रमका लागि ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टर र नियो चाईल्ड केयर सेन्टरबीच सम्झौता समेत भएको छ । सम्झौता अनुसार न्युरोडाईभर्स भएका इच्छुक बालबालिकाहरुलाई नियोले मुल्यांकन गरी सिफारिस गर्नेछ भने ट्वेल्भले ती बालबालिकाहरुलाई प्रशिक्षण दिनेछ ।

साथै प्रशिक्षणका लागि पहिलो चरणमा सिमित संख्यामा बालबालिकाहरुलाई प्रशिक्षण दिईने बताइएको छ । र, उक्त कार्यक्रमको प्रभावकारिता र सहभागिताका आधारमा प्रशिक्षण कार्यक्रम अवधि थप गर्ने योजना रहेको समेत ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरका प्रशिक्षक र सञ्चालक समेत रहेका बिराज महर्जनले बताए ।

स्मरण रहोस, ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले त्यसबाहेक युथ र ग्रासरुट फुटबललाई लक्षित गरी युवा बाल खेलाडीहरुलाई पनि नियमित फुटबल प्रशिक्षण गराउँदै आएको छ ।

Post Comments