Province 4 उद्घाटन खेलमै एपिएफसँग हार्यो सहारा
उमेश पुन

पोखरा । शनिबारदेखि शुरु १९औं आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमै आयोजक सहारा क्लब पराजित हुन पुगेको छ ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा सहाराले सशस्त्र प्रहरीको एपिएफ क्लबसँग ०–१ को हार बेहोरेको हो । खेलको अन्तिमतिर ८७औं मिनटमा आशिष लामाले गरेको एक मात्र गोल एपिएफलाई जित दिलाउन निर्णायक बन्यो ।

यो जितसँगै एपिएफ प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच एपिएफका निर्णायक गोलकर्ता आशिष लामा नै घोषित भए ।

प्रतियोगिता अन्तरगत चैत्र २२ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र अफ्रिकन रुटस एसोसिएशन क्यामरुनबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल भने यहि चैत्र २८ गतेका दिन हुनेछ । प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका छन् ।

Post Comments