ANFA दाङ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको विजेता टोलीलाई खुसीको खबर
गोलनेपाल

तुलसीपुर । तेस्रो अन्तर वडा स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता थप आकर्षित बन्दै, दाङ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको विजेता टोलीलाई पनि समावेश गरिने।

तुलसीपुर उपमहानगरपालिका वडा नं.–६ कार्यालयको आयोजनामा हुन लागेको तेस्रो अन्तर वडा स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८३ को तयारी तीव्र पारिएको छ।

प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले आयोजकले खेलाडी तथा खेलप्रेमीहरूसँग छलफल तथा आवश्यक तयारी अघि बढाएको जनाएको छ। “सम्भवत: नेपालकै ठूलो अन्तर वडा स्तरीय रनिङ शिल्ड” बनाउने लक्ष्यसहित प्रतियोगितालाई विशेष बनाउने तयारी भइरहेको आयोजकको भनाइ छ।

त्यसै सन्दर्भमा यस प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षक बनाउनको लागि दाङ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको विजेता टोलीलाई पनि वडास्तरीय फुटबल प्रतियोगितामा समावेश गरिने भएको छ। जसकारण प्रतियोगिता अझ व्यवस्थित र आकर्षित हुनुका साथै थप प्रतिस्पर्धात्मक बन्ने निश्चित भएको छ।

प्रतियोगिताका सम्पुर्ण खेलहरू अरनिको मैदान, तुलसीपुर–दाङमा सञ्चालन हुनेछन्। प्रतियोगितामा प्रथम हुने टोलीले रु. २,६६,६६६ नगदसहित कप, मेडल र प्रमाणपत्र, द्वितीय हुने टोलीले रु. १,६६,६६६ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक तथा प्लेयर अफ द म्याच लगायतका विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा फुटबलको विकाससँगै खेलाडीहरूको प्रतिभा पहिचान र प्रोत्साहनमा समेत महत्वपूर्ण भूमिका खेल्नेछ।

Post Comments